मनकामना अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी महिलाकाे परिवारलाई २७ लाख ५० हजार क्षतिपूर्ति


चितवनकाे मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको ज्यान गएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ । अस्पतालले मृतककाे परिवारलाई २७ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएकाे हाे । क्षतिपूर्ति पाएपछि परिवारले शव उठाएका छन् । 

भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा गएराति ज्यान गएकाे हाे । मृतकका पति मणिकलाल महतोका अनुसार नवीनालाई बिहीवार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो । अत्यधिक रक्तश्रावका कारण उहाँको गए राति १ बजे ज्यान गएको अस्पतालले जानकारी दिएको थियो ।

मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । सहमतिपछि अस्पतालले आजै २७ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । वार्तामा सहभागी अस्पतालका चिकित्सकका अनुसार सहमतिपछि परिवारले शव उठाएका हुन् । 

नवीनाको ज्यान गएपछि आज बिहानैदेखि मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए । उच्च रक्तश्रावपछि शल्यक्रिया गरेर पाठेघर झिकिएको भए पनि बचाउन नसकिएको हो । परिवारले पाँच वर्षकी छोेरीको पढाइका लागि रकम माग गरेपछि अस्पतालले रकम दिएको हो ।