सडकमा लतारिएको तारमा करेन्ट लागेर एक युवाको मृत्यु, विरोधमा पूर्व पश्चिम राजमार्ग बन्द


कञ्चनपुरमा सडकमा लतारिएको तारमा करेन्ट लागेर एकजनाको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्गमा लतारिएको विद्युतको तार छुँदा ओडलाई बुधबार बेलुका करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक ओडको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन्। विरोधमा उनीहरुले बिहीबार बिहानैदेखि सुकासाल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। टायर बालेर राजमार्ग बन्द गराइएको हो।

विद्युत प्राधिकरणको लापरबाहीले ज्यान गएको भन्दै मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग उनीहरुले राखेका छन्। ओडका तीन छोराछोरी छन्।