सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनःगृहमन्त्री श्रेष्ठ


गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशङ्का व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले सीआईबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पारेका हुन् ।

उनले तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढङ्गले निष्कर्षमा पुर्‍याउन प्रहरीलाई कडा निर्देशन दिएको उल्लेख गरे ।

‘सीआईबीलाई आफ्नो सम्पूर्ण स्वतन्त्रतासहित आफ्नो सम्पूर्ण कार्यक्षमता प्रदर्शन गर्न र गहिराइमा पुग्न गृह प्रशासनको तर्फबाट मैले बारम्बार निर्देशन दिएको छु । म दृढतापूर्वक भन्न चाहन्छु, सीआईबी वा कुनैपनि प्रहरी संरचनालाई, संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप गरिँदैन । बरु तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढङ्गले निष्कर्षमा पुग्न अगाडि बढाउ भनेर हामीले कडा निर्देशन दिएका छौँ । त्यसै अनुसार घटनाक्रम अगाडि बढ्छ आइन्दा पनि’, उनले भने।

गृहमन्त्री श्रेष्ठले सर्लाही घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताए । सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ति सेलाउने क्रममा सांघातिक हमला भएको थियो । त्यहाँको समस्या समाधान गर्न आफूले जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिहरेको उल्लेख गर्दै आवश्यक परेमा एक, दुई दिनमै नयाँ निर्णय लिइने बताए । उनले प्रहरी संयन्त्रको कमजोरी हुन नदिने पनि बताए ।

गृहमन्त्री श्रेष्ठले आफूलाई अकस्मात् रूपमा समिति बैठकमा बोलाइएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । मन्त्री श्रेष्ठलाई बोलाउने समिति बैठकको कार्यसूची नभए पनि सांसदहरूले मन्त्री श्रेष्ठलाई बोलाउन माग गरेपछि समिति सभापतिले उनलाई बोलाएवोलावट भएको थियो ।
उनले समिति बैठकमा मन्त्रीलाई लोकतान्त्रिक मूल्य, मान्यता र प्रणाली अनुरुप बोलाउनुपर्ने बताए । उनले मन्त्री भएकै कारण जतिखेरै आइहाल्नु भनेर बैठकमा बोलाउन नमिल्ने बताए । उनले गृह मन्त्रालय देशभरका कारागार सुधार्ने काममा लागेको पनि बताए ।