सर्वोच्च अदालतले बाँकेका योगराज ढकाल (रिगल) लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। पक्राउ गरी रिगललाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको हो। बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।
‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने। सरकारको निर्णय संविधान र कानुनका व्यवस्था र अदालतले दिएका फैसलाहरू अनुकूल देखिएन। बाँकी कैद मिनाहा गर्दा वस्तुगत कारण खुलाएर मात्रै गर्नुपर्ने देखियो,’ न्यायाधीश खतिवडाले इजलासमा आदेश सुनाउँदै भने।
यस्तै इजलासले सञ्चारमाध्यमहरूको पनि ध्यानाकर्षण गर्न भनेको छ। अदालतमा विचाराधीन अवस्थामा रहेको यो मुद्दामा अपुष्ट र भ्रमपूर्ण समाचारहरू लेखेको हुँदा विचार पुर्याउन ध्यानाकर्षण गराउन भन्नू,’ न्यायाधीश खतिवडाले इजलासमा भने। रिगलको बाँकी कैद पनि भुक्तान गर्न पठाउन आदेश दिएपछि उक्त आदेश सुनेर चेतन मानन्धरकी श्रीमती भारती इजलासमै चिच्याएर रोएकी थिइन्।
सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटलाई सर्वोच्चले प्राथमिकताका साथ हेरेको थियो। बुधबार सुनुवाइ सकेर बिहीबारका लागि निर्णय सुनाउने समय तोकेको थियो।
०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै रिगलले चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए। मानन्धरको हत्या आरोपी रिगलले दुई महिनापछि बाँके जिल्ला अदालतमा गएर आत्मसमर्पण गरेका थिए। त्यसपछि उनी मुद्दाको किनारा नलाग्दासम्म पुर्पक्षका लागि जेलमा थिए। उनले ८ वर्ष कैद सजाय भोगिसकेका थिए।
जिल्ला अदालत बाँकेले ०७६ वैशाखमा मानन्धरको हत्यामा रिगललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो। मानन्धरको हत्यामा संलग्न रहेको ठहर गर्दै अदालतले अन्य १२ जनालाई पनि कसुरअनुसार ती वर्षदेखि १० वर्षसम्मको सजाय तोकेको थियो।
तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले घटनामा संलग्नमध्ये रिगलकै समूहका सोहनसिहं ढकाललाई १० वर्ष जेल सजायको फैसला सुनाएका थिए। उनकै समूहका माधव नेपाली, बिराज पाठक, हरि वली, मनीष चौलागाईं, प्रितम थापा, यमबहादुर बुढा मगर र केशवबहादुर रोकायालाई जनही तीन वर्षको काराबास सजाय तोकेको थियो।
त्यस्तै प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भनिने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कासहित सबैलाई जन्मकैदको सजाय तोकेको थियो। रिगलले झन्डै ५० प्रतिशत सजाय भुक्तान गरिसकेका थिए।