पक्राउ परे रिगल, ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने

Microlink Media

१६ कार्तिक २०८०, बिहिबार


 सर्वोच्च अदालतको फैसलालगत्तै पक्राउ परेका योगराज ढकाल भनिने रिगल ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने भएको छ ।  सर्वोच्चको फैसलाअनुसार उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको हो । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् ।

बिहीबार नै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो । 

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति  राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । चेतन मानन्धरको हत्या गरिएको मुद्दामा बाँके जिल्ला अदालतबाट २०७५–१–११ मा र उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासबाट २०७६–१०–२८ मा भएको फैसला अनुसार ढकाललाई जन्मकैद (वीस वर्ष कैद) हुने भनी ठहर भएको थियो ।

सो मुद्दाका सन्दर्भमा रिगल ढकाल २०७२–५–७ देखि थुनामा रहेका थिए भने २०८० साल असोज ३ गतेको संविधान दिवसको सन्दर्भमा निजलाई रिहा गर्दा बाँकी कैद ११ वर्ष ११ महिना ५ दिन भुक्तानी हुनै बाँकी थियो ।