अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्वका वसन्तको उपचारका क्रममा मृत्यु 

Microlink Media

१८ फाल्गुन २०८०, शुक्रबार


अवैध बाटो हुँदै अमेरिका पुगेका सिस्ने गाउँपालिका वडा नम्बर–३ पोखराका ३२ वर्षीय वसन्त शर्माको उपचारका क्रममा अमेरिकामै मृत्यु भएको छ । दुई वर्षअघि अमेरिका पुगेका उनी क्षयरोगको संक्रमणका कारण बिरामी परेपछि तीन महिनादेखि अस्पतालमा उपचाररत थिए ।

न्युयोर्कको जर्सीस्थित ‘मोनमाउथ मेडिकल सेन्टर’मा उपचाररत वसन्तको बिहीबार मृत्यु भएको उनकी भाउजू अस्मिता शर्माले जानकारी दिइन् । २०७८ साल चैतमा घरबाट हिँडेका वसन्त ८ महिनापछि २०७९ पुसमा अमेरिका पुगेका थिए । पारिवारिक स्रोतका अनुसार करिब ९० लाख रुपैयाँ दलाललाई बुझाएर अमेरिका पुगेका वसन्तलाई गत मंसिर ११ गते अस्पताल भर्ना गरिएको थियो ।

उनलाई क्षयरोगको संक्रमणका भएको अस्पतालले जानकारी गराएको थियो । त्यसकोे संक्रमण वसन्तको फोक्सोबाट बढेर दिमागको बाँया भागमा समेत पुगिसकेको पनि अस्पतालले बताएको थियो । सुरुदेखि नै भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।

मानव तस्करका माध्यमबाट अमेरिका पुगेका वसन्तसंग त्यहाँको कुनै आधिकारिक कागजात नहुँदा निकै मुस्किल भएको साथी लक्ष्मण शर्माले बताए । वसन्तको घरमा आमा, श्रीमती र दुई छोरी तथा दुईजना भाइ छन् । मानव तस्करका माध्यमबाट रुकुम र आसपासका भेगबाट धेरै मानिस अवैध तरिकाले अमेरिकालगायतका विभिन्न देशमा जाने गरेका छन् ।