नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमालेका कार्यकर्ताहरू भएको बालेनको दाबी

Microlink Media

२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत बुधबार नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेर आफ्नो आत्मरक्षा गरेको दाबी गरेका छन् । नगर प्रहरीमाथि रडले आक्रमण भएपछि बाध्य भएर उनीहरूले आत्मरक्षाका लागि बल प्रयोग गरेको जिकिर गरेका हुन् ।

उनले नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमालेका कार्यकर्ताहरू भएको पनि दाबी गरे । ‘भिडियोमा देखिएकी महिला सडक बिक्रेता नभई एमाले पार्टी कार्यकर्ता हुन्,’ उनले समाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन् ।   उनले सामाजिक सञ्जालमा देखिएको भिडियो आधा मात्र भएको र यसअघिको भाग सरकारले मेटाएको आरोपसमेत लगाएका छन् । 

फुटपाथमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि सुन्धारा क्षेत्रमा बुधबार साँझ काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गरेको बल प्रयोगको बारेमा यतिबेला चौतर्फी आलोचना भइरहेको छ । झडपमा  महानगर प्रहरीका डिएसपी मनोज लामिछानेसहित ५ जना घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेको भनाई छ ।