माटो खन्न जाने महिलाको समूहलाई स्कूल बसले ठक्कर दियो, एकजनाको मृत्यु

Microlink Media

२० फाल्गुन २०८०, आइतबार


 जनकपुरधाम उपमहानगरपालिका २३ जनकपुर–जलेश्वर सडकमा स्कुल बसले विवाहका लागि माटो खन्न हिँडेकी महिलाहरूको समूहलाई नै ठक्कर दिएपछि एक महिलाको मृत्यु भएको छ । बसको ठक्करले स्थानीय ३५ वर्षीया राखीदेवी यादवको घटनास्थलमै मृत्यु भएको छ ।

अन्य ५ महिला घाइते भएकी छन् । तीमध्ये एकको अवस्था गम्भीर छ । घाइते सबैलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको छ । एक प्रत्यक्षदर्शीका अनुसार महिलाहरू समूहमा सडकको छेउ भएरै गइरहेकी थिइन् । तीव्र गतिमा आइरहेको स्कुल बसले उनीहरूलाई ठक्कर दियो । ठक्करले लडेकी एक महिला चक्कामुनी परेपछि मृत्यु भयो ।

अन्य महिलाहरू घाइते भइन् । ठक्कर दिने बस जनकपुरधाम ९ स्थित एजल्स बोर्डिङ स्कुलको रहेको छ । दुर्घटनापछि बस चालक फरार भएका छन् । घटनास्थलमै रहेको बसको सिसा आक्रोशित भीडले फोडेका छन् ।