नोबेल मेडिकल कलेजमा कार्यरत चन्द्रा कुमारी दासको प्रेम सम्बन्धका कारण हत्या भएको प्रहरीले आशंका गरेको छ । विराटनगरमा डेरा बसेको घरभित्र शव फेला परेकी स्टाफ नर्स दासको उनकै केटा साथीले हत्या गरेको आशंका गरिएको छ । विराटनगर महानगरपालिका–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् ।
डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दासको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले बताए ।उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि फालेको अवस्थामा शव भेटिएको हो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको दाहालले बताए ।
शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाइ हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको छ । मृतकका आफन्त एवं परिवारका सदस्यलाई प्रहरीले घटनाको जानकारी गराइसकेको छ । उनीहरु सिरहाबाट विराटनगर आउने क्रममा रहेको डीएसपी दाहालले बताए ।
यो घटनापछि दासका ‘ब्वाई फ्रेन्ड’ भनिएका युवा सम्पर्कविहीन बनेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।मृतकका साथीहरुले प्रहरीलाई दिएको जानकारीअनुसार दास सिरहाको फुल्काहकट्टी नै घर भएका अमिन धानुकसँग प्रेम सम्बन्धमा थिइन् । दासका प्रेमी धानुक अहेब रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनी सिरहाको गोलबजारमा काम गर्छन् । दासको हत्यामा धानुक संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंका छ । तर, धानुक विराटनगर कहिले आएका थिए भन्ने यकिन भइसकेको छैन ।
प्रहरी स्रोतका अनुसार मृतक बसकै घरमा उनका अरु साथीहरू पनि डेरा बस्थे । तीमध्ये एकजना साथीको वाट्सएपमा ‘मैले हत्या गरेर शौचालयमा छाडिदिएको छु’ भन्दै धानुकले म्यासेज गरेर फोटाहरु पठाएको पाइएको प्रहरी स्रोतले बतायो ।
उनले कुन नम्बरबाट वाट्सएप गरे भन्ने प्रहरीले खुलाएको छैन । तर, घटनापछि सम्पर्कविहीन भएकाले खोजीका लागि प्रहरी परिचालन गरिसकिएको एसपी कार्कीले बताए । एसपी कार्की घटनामा अरु नै व्यक्तिको संलग्नता पनि हुन सक्ने बताउँछन् ।