काठमाडौँःसरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले घिउ विदेश निर्यात सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा नेपाल एयरलाइन्समार्फत ५ सय किलो डीडीसीको घिउ दुबई पठाइएको हो ।
डीडीसीले मध्यपूर्वी मुलुकमा घिउ निर्यातका लागि निजी क्षेत्रका रातो र चन्द्र सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ । संस्थानका महाप्रबन्धक डा. शरण पाण्डेका अनुसार मध्यपूर्वी मुलुकमा वार्षिक ५० हजार किलो घिउ निर्यात गर्ने लक्ष्य राखिएको छ । हाल उत्पादन कम रहेकाले पहिलो वर्ष ५० टन घिउ मात्र निर्यात गरिनेछ।
मागअनुसार हरेक साता घिउ पठाउने तयारी गरिएको डीडीसीले जनाएको छ । यसैगरी, आगामी कात्तिकदेखि जापान, दक्षिण कोरिया र चीनको तिब्बतमा समेत डीडीसीको घिउ निर्यात गर्ने तयारी भइरहेको छ । विदेशी बजार विस्तारसँगै डीडीसीको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्य राखिएको संस्थानले जनाएको छ ।





