सुनसरी–मोरङ सिँचाइ सुधारलाई प्राथमिकता दिन मन्त्री श्रेष्ठको जोड


काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सुनसरी–मोरङ सिँचाइ प्रणालीको तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन पुनस्र्थापना र आधुनिकीकरणमा जोड दिएका छन् ।

परियोजनाको स्थलगत अध्ययनका क्रममा उनले सिँचाइलाई कृषि उत्पादन, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्ने बताए। सिँचाइमा लगानी गरेर मात्रै नपुग्ने भन्दै त्यसबाट उत्पादन र किसानको आम्दानी बढ्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । करिब ६८ हजार हेक्टर क्षेत्र समेट्ने परियोजनामा कोशी नदीको धार परिवर्तन, गेग्रान थुप्रिने र इन्टेकमा पर्याप्त पानी नपुग्ने समस्या देखिएको छ ।

मन्त्री श्रेष्ठले तत्कालका लागि ड्रेजिङलगायतका काम गरे पनि दीर्घकालीन स्थायी समाधानका लागि स्पष्ट कार्ययोजना बनाउन निर्देशन दिएका छन् । सिँचाइ प्रणालीको सुधारले कृषि उत्पादन बढाउनुका साथै ग्रामीण क्षेत्रबाट हुने जनसंख्या पलायनसमेत घटाउन सक्ने उनले बताए ।