काठमाडौँः बाराको कलैयाबाट शनिबार साँझ हराएकी २३ महिने बालिका करिब १२ घण्टापछि आइतबार बिहान सकुशल फेला परेकी छन् । कलैया उपमहानगरपालिका–१ कट्टिपर्साकी बिन्दीकुमारी मण्डल शनिबार साँझ ५ः३० बजे घरछेउबाट हराएकी थिइन् ।
परिवारले राति प्रहरीलाई खबर गरेपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र तालिमप्राप्त कुकुरसहितको टोलीले रातभर खोजी गरेको थियो । आइतबार बिहान करिब ५ः४५ बजे कलैया–२६ सिसवा महेशपुरस्थित सडक किनारको नालामा स्थानीय सल्मा नेसाले बालिकालाई रोइरहेको अवस्थामा फेला पारेकी थिइन् ।
घरबाट करिब एक किलोमिटर टाढा फेला परेकी बालिकाको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बालिका कसरी घरबाट बाहिरिइन् र उक्त स्थानसम्म कसरी पुगिन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।





