काठमाडौँः प्रधानमन्त्री बालेन शाह बुधबार कालो चस्मा लगाएरै प्रतिनिधि सभा बैठकमा उपस्थित हुने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए । यदि स्वास्थ्य अवस्थाका कारण कालो चस्मा लगाउनुपर्ने भए स्वास्थ्य परीक्षण रिपोर्टसहित कारण खुलाउन सभामुखले आग्रह गरेका थिए । सभामुखको आग्रहपछि प्रधानमन्त्री शाहले आँखाको समस्याका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको भन्दै संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन् ।
उनले पत्रसँगै आफ्नो स्वास्थ्य परीक्षणको रिपोर्टसमेत संसद् सचिवालयमा बुझाएका छन् । प्रधानमन्त्री शाहले उज्यालोमा हेर्न असहज भएपछि नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा साउन २२ गते आँखा परीक्षण गराएका थिए। उनको परीक्षण लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेका थिए । आँखा परीक्षण रिपोर्टमा प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुने तथा आँखा सुक्खा हुने समस्या देखिएको उल्लेख छ । चिकित्सकीय सुझावअनुसार उनले आवश्यकताअनुसार आइड्रप प्रयोग गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।
यही स्वास्थ्य अवस्थाका कारण कालो चस्मा लगाउनुपर्ने बाध्यता रहेको जानकारी प्रधानमन्त्रीले संसद् सचिवालयलाई गराएका हुन् । त्यससँगै उनी बुधबारको प्रतिनिधि सभा बैठकमा कालो चस्मामै सहभागी हुने भएका छन् ।





