काठमाडौँः वैदेशिक रोजगारीका लागि टर्की पुगेकी अर्घाखाँचीकी २१ वर्षीया सविता भुसालले आफूलाई बन्धकजस्तै बनाइएको र मानसिक तथा शारीरिक तनाव दिइएको भन्दै उद्धारका लागि अपिल गरेकी छन् ।
उनका अनुसार हाउसकिपिङको काम, आठ घण्टाको ड्युटी र साप्ताहिक बिदाको आश्वासनमा टर्की पुगे पनि ११–१२ घण्टासम्म काम गर्न बाध्य पारिएको थियो । पछि होटलको काम छाडेर स्पा तथा मसाज सेन्टरमा काम गर्न दबाब दिइएको र अस्वीकार गरेपछि आफूलाई बस्ने ठाउँबाट निकालेर कन्टेनर तथा सडकमा समेत बस्न बाध्य बनाइएको उनको दाबी छ ।
हाल इस्तानबुलमा एक नेपाली महिलाको आश्रयमा रहेकी सवितासँग न जागिर छ, न पर्याप्त पैँसा नै छ । नेपाल फर्किने खर्चसमेत नभएको भन्दै उनले नेपाल सरकार, नेपाली दूतावास, मानवअधिकारकर्मी तथा सम्बन्धित निकायसँग तत्काल उद्धारको माग गरेकी छन् । उनले आफूलाई टर्की पठाउने क्रममा संलग्न भएको भन्दै केही व्यक्तिको नामसमेत सार्वजनिक गरेकी छन् ।
यद्यपि उनीहरूले लगाएका आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ । सविताले आफू मानसिक रूपमा निकै कमजोर अवस्थामा पुगेको बताउँदै “जसरी भए पनि मलाई नेपाल फर्काइदिनुहोस्” भन्दै सहयोगको अपिल गरेकी छन् ।





