काठमाडौँः सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले उनकी कान्छी आमालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–२ कनकपट्टी टोल घर भई हाल वडा नम्बर ३ ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुन रहेकी छन् ।
प्रहरीका अनुसार खातुनले दुई वर्षीया खुशी खातुनको हत्या गरी घर पछाडिको झाडीमा फालेको आरोप छ । घटना लगत्तै पक्राउ परेकी खातुनले सोधपुछका क्रममा बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । मृतककी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए ।
खातुनलाई सप्तरी जिल्ला अदालतबाट भदौ ७ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान जारी छ । घटना भएकै दिन बालिकाको शव पोस्टमार्टम गरी उनकी आमाले अन्तिम संस्कारका लागि बुझेर लगेकी थिइन् ।





