भोटेकोशी बाढीमा १ हजार ११८ जनाको शव फेला, ५ हजार १५ जना अझै बेपत्ता


काठमाडौँः रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म देशका विभिन्न जिल्लाबाट १ हजार ११८ जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको हो । फेला परेका शवमध्ये १ हजार ११७ वटाको लासजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ । पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी ८६९ वटा शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

हालसम्म पहिचान नभएका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ६ हजार ८५३ जनाको उद्धार गरिएको छ भने ५ हजार १५ जना अझै बेपत्ता छन्।

विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार २४७ जनालाई राखिएको छ । प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी र विभिन्न निकायसँगको समन्वयमा खोज तथा उद्धार र अवरुद्ध सडक खुलाउने काम जारी राखेको जनाएको छ ।