काठमाडौँः भोटेकोशी र त्रिशूली नदीमा बिहीबार पनि आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।
माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशूली तथा आसपासका साना नदी–खोलामा जलसतह उल्लेख्य बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका साना नदी–खोलामा पनि बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ । प्रभावित हुन सक्ने जिल्लामा ताप्लेजुङदेखि कञ्चनपुरसम्मका दर्जनौँ जिल्ला छन् ।





