काठमाडौँः रसुवाको भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका दुई जनामध्ये कविर महर्जनको अवस्था जटिल रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
महर्जनलाई तत्काल काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याएर आईसीयूमा उपचार भइरहेको छ । यस्तै, सुरुङबाट पहिलोपटक उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ । तर, १० दिनसम्म सुरुङभित्र फसेकाले थप स्वास्थ्य परीक्षण र निगरानीका लागि उनलाई पनि सैनिक अस्पताल ल्याइँदै छ ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र प्राविधिक विज्ञहरूको टोलीले शुक्रबार बिहान दुवै जनालाई १० दिनपछि जीवितै उद्धार गरेको हो ।





