क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ



काठमाडौँः वीरगञ्जको एक क्यासिनोमा प्रवेश गरी जुवा खेलेको आरोपमा नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराईका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामक क्यासिनोबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ४ जना रहेका छन् । यस्तै, सखुवाप्रसौनी–६ का ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज–११ का ३९ वर्षीय ओमप्रकाश बैठा पनि पक्राउ परेका छन् ।

यसैगरी नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराएको आरोपमा क्यासिनोका चार कर्मचारीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन् । प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।