रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो



काठमाडौंः बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको निर्देशनपछि प्रभावित क्षेत्रमा खोप, औषधि र स्वास्थ्य सामग्री पठाउने तथा स्वास्थ्यकर्मी परिचालन गर्ने काम तीव्र पारिएको छ । बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेपछि हैजा लगायत पानीजन्य रोगको जोखिम बढेको छ ।

त्यसैले प्रभावित क्षेत्रमा रोग निगरानी, सुरक्षित खानेपानी, सरसफाइ तथा रोगको शीघ्र पहिचान र उपचारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।