काठमाडौँः भोटेकोशी बाढीपीडितलाई वितरण गर्न तयारी अवस्थामा राखिएका राहत सामग्रीमा गम्भीर लापरबाही भेटिएको छ । काठमाडौंका विभिन्न पाँच भण्डारण तथा अनुगमन स्थलमा गरिएको आकस्मिक निरीक्षणका क्रममा चामल, आटा, भुजा, चिप्सलगायत म्याद गुज्रेका खाद्य सामग्री फेला परेका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र डिभिजन कार्यालय काठमाडौंको संयुक्त टोलीले बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग, सामाखुसीस्थित प्रहरी तालिम केन्द्र र राधा स्वामी सत्सङलगायत स्थानमा अनुगमन गरेको थियो । बबरमहलमा ३० थान ‘करेन्ट चिप्स’ र २१ बोरा भुजा म्याद गुज्रेको अवस्थामा भेटिएको थियो। त्यस्तै, प्रहरी तालिम केन्द्रमा १८ पिस चोकोफन र पाँच किलोको एक प्याकेट चक्की आटा म्याद सकिएको अवस्थामा फेला परेको छ ।
त्यहाँ ५९ प्याकेट ‘अल इन वान’ दालमोठको म्याद सकिन दुई दिन मात्रै बाँकी रहेको पनि पाइएको थियो। विभागले यी सामग्री वितरणमा रोक लगाउँदै छुट्टै ‘एक्स्पायर्ड जोन’मा राखेर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । राधा स्वामी सत्सङमा पनि २५ किलोको एक बोरा जयश्री उसिना चामल म्याद सकिएको अवस्थामा फेला परेको थियो । विपद्मा परेका नागरिकलाई वितरण गरिने राहत सामग्रीमै म्याद गुज्रेका खाद्यवस्तु राखिनु गम्भीर लापरबाही भएको भन्दै विभागले स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर कारबाही अघि बढाएको जनाएको छ ।





