बाढी प्रभावित धादिङका समुदायलाई इजरायली दूतावासको आपत्कालीन मानवीय सहायता


काठमाडौँः नेपालस्थित इजरायली दूतावासले धादिङको गल्छी गाउँपालिका–६, बैरेनीका बाढी प्रभावित समुदायलाई आपत्कालीन मानवीय सहायता प्रदान गरेको छ ।

अचानक आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको इजरायली दूतावासकी मिसन उप–प्रमुख जनन बेबारले स्थलगत अवलोकन गर्नुभएको थियो । त्यसक्रममा बाढीका कारण तत्काल कठिनाइमा परेका व्यक्ति तथा परिवारलाई आपत्कालीन झोला र अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बासले बाढीबाट प्रभावित नेपालीप्रति सहानुभूति व्यक्त गर्दै इजरायल नेपालका जनताको साथमा रहेको बताउनुभएको छ ।

उहाँले प्रारम्भिक सहयोगले प्रभावित समुदायलाई तत्काल केही राहत पुग्ने विश्वास व्यक्त गर्दै संकटको सामना गर्ने क्रममा नेपाललाई सहयोग गर्न इजरायल प्रतिबद्ध रहेको बताउनुभयो ।