चिलिमे जलविद्युत् आयोजनामा उद्धारका लागि भारतीय टोलीसहितको समन्वय जारी


काठमाडौँः नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्यका लागि निरन्तर प्रयास भइरहेको जानकारी दिएका छन् ।

राजदूत श्रीवास्तवले सामाजिक सञ्जालमार्फत भारतीय टोलीसहितको समन्वयमा उद्धार कार्य अघि बढिरहेको बताएका हुन् । उनका अनुसार नेपाल–भारतको संयुक्त प्राविधिक टोलीले सुरुङभित्र प्रवेश गर्न आवश्यक सुरक्षा डोरीको कनेक्सन तयार गरेको छ । सुरुङभित्र जमेको हिलो तथा लेदो हटाउन ठूलो क्षमताको मड पम्प र जेनेरेटरसमेत घटनास्थलमा ल्याइएको उनले जानकारी दिएका छन् ।

उद्धार कार्यलाई सहज बनाउन आवश्यक सडक निर्माणको कामसमेत अघि बढिरहेको राजदूत श्रीवास्तवले बताएका छन् । उनले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकाय र प्राविधिक टोलीबीच निरन्तर समन्वय भइरहेको जनाएका छन् ।