काठमाडौँः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये केही स्थानमा मानव अंगसमेत भेटिएका छन् ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये १०२ जनाको सनाखत भई परिवारले बुझिसकेका छन्। बाढीपछि ५ हजार ३२६ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये रसुवाका २ हजार ८६०, नुवाकोटका १ हजार ९८१ नेपाली र करिब ५८७ जना विदेशी पर्यटक रहेको जनाइएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको छ भने बाढीबाट घाइते ६ हजार ८२७ जनाको उपचार गरिएको छ ।
उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन्। प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरी ३ हजार ५३३ जनालाई राखिएको छ । सरकारले रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ। साथै प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ राहत प्रदान गरिएको प्राधिकरणले जनाएको छ । विद्युत् सेवा पनि क्रमशः पुनःस्थापित भइरहेको छ।
रसुवामा ७८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र धादिङमा ९९.८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भएको प्राधिकरणले जनाएको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी स्वास्थ्यकर्मी तथा जनशक्ति परिचालन गरी प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्श सेवा समेत सञ्चालन भइरहेको छ ।





