जेनजी स्मृति पार्क उद्घाटनअघि विवादमा, शहीदका परिवारले सालिक नमिलेको भन्दै जनाए आपत्ति


काठमाडौँः ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटनअघि नै विवादमा परेको छ । आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग पार्कमा राखिएका सालिक नमिलेको भन्दै परिवारजनले आपत्ति जनाएका छन् ।

पार्कमा गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त ४५ जनाको सालिक निर्माण गरिएको छ । शहीदका आफन्तहरूले सालिक निर्माणमा लापरबाही भएको आरोप लगाउँदै वास्तविक अनुहारसँग मेल खाने गरी सुधार गर्न माग गरेका छन् । पार्कको आज औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनका लागि गृहमन्त्री सुधन गुरुङ पार्क परिसर पुगिसकेका छन् ।

दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले जनाएको छ ।