भोटेकोशी बाढीपछि प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै


काठमाडौँः प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित परिस्थितिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि खोजी, उद्धार, राहत वितरण तथा घाइतेको उपचारलगायतका काम भइरहेका छन् । यही अवस्थाबारे विस्तृत जानकारी लिन र आगामी कार्ययोजनाका विषयमा आवश्यक निर्देशन दिन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूसँग छलफल थालेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग प्रधानमन्त्री शाहको छलफल भइरहेको उनको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार अभियान, सुरक्षाकर्मीको परिचालन, राहत तथा उद्धार सामग्रीको व्यवस्थापन, प्रभावित नागरिकको उद्धार र उपचारलगायतका विषयमा प्रधानसेनापति सिग्देलबाट प्रधानमन्त्री शाहले विस्तृत ब्रिफिङ लिने बताइएको छ । प्रधानसेनापति सिग्देलसँगको छलफल सकिएपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छुट्टाछुट्टै छलफल गर्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।

तीनवटै सुरक्षा निकायबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो अवस्थाबारे जानकारी लिएपछि प्रधानमन्त्री शाहले थप प्रभावकारी रूपमा सुरक्षा जनशक्ति परिचालन र उद्धार तथा राहत कार्य अघि बढाउन आवश्यक निर्देशन दिने तयारी गरेका छन् ।