काठमाडौंः विशेष अदालतले नेपालको पासपोर्ट छपाइको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसलाई साधारण तारिखमा राख्न आदेश दिएको छ।
विशेष अदालतका सदस्य नारायण पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले भेरिडोससँग कुनै धरौटी नलिई साधारण तारिखमा छाड्न आदेश दिएको हो । पासपोर्ट छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका कर्मचारीसहित ठेक्का पाएको भेरिडोसविरुद्ध पनि मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि भेरिडोसले नेपाली प्रतिनिधिलाई अख्तियारनामा दिएको थियो ।
अख्तियारनामा पाएका प्रतिनिधि विशेष अदालतमा उपस्थित भई बयान दिएका थिए । बयान तथा थुनछेक बहसपछि अदालतले भेरिडोसका प्रतिनिधिलाई साधारण तारिखमा छाड्ने आदेश दिएको हो ।





