काठमाडौँः त्रिशूली नदीको निरन्तर कटानले भासिएको कृष्णभिरमा सडकसँगैको भिर काट्ने काम सकिएपछि अब राजमार्गको सतह निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अहिलेकै गतिमा काम भए दुई–तीन दिनमै सडक खुल्न सक्ने आयोजनाले जनाएको छ ।
पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु खण्ड निर्माण आयोजनाका अनुसार १० मिटर चौडाइ र १५२ मिटर लम्बाइमा भिर काटिसकिएको छ । अब ग्रेड मिलाउने, सतह बनाउने, कम्प्याक्सन गर्ने र ग्राभेल हाल्ने काम बाँकी छ । आयोजनाले असोज १ गतेभित्र राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । सडक खुल्नेबित्तिकै खाद्यान्न, एलपी ग्यासका बुलेट, औषधी बोकेका सवारी तथा एम्बुलेन्सलाई प्राथमिकता दिइनेछ ।
भदौ १४ गतेदेखि कृष्णभिर भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ आउने–जाने दैनिक करिब १५ हजार सवारीसाधन प्रभावित भएका छन् । तीमध्ये करिब चार हजार मालवाहक तथा खाद्यान्न बोकेका सवारीसाधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।





