विद्यार्थीका सुझाव समेटेर शिक्षा प्रणाली सुधार गर्छौँ: शिक्षामन्त्री पोखरेल


काठमाडौंः शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव तथा गुनासो समेटेर नेपालको शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताउनुभएको छ ।

आइतबार सप्तरीका विभिन्न विद्यालयको अनुगमन गर्दै मन्त्री पोखरेलले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरी पाठ्यक्रम, अध्ययन–अध्यापन, आवश्यक सीप तथा विद्यालयका समस्याबारे सुझाव लिनुभएको हो । विद्यार्थीहरूले विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, पाठ्यक्रममा व्यवहारिक तथा जीवनोपयोगी विषय समावेश गर्नुपर्ने र अध्ययनसँगै सीप विकासमा जोड दिनुपर्ने सुझाव दिएका थिए । साथै विद्यालयको भौतिक पूर्वाधार तथा प्रविधियुक्त शैक्षिक सामग्री सुधार गर्नुपर्ने उनीहरूको माग थियो ।

मन्त्री पोखरेलले काठमाडौँमा बन्द कोठामा बसेर मात्रै पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्दै विद्यार्थी, शिक्षक तथा सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रम निर्माण तथा परिमार्जन गरिने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रका समस्या समाधानका लागि शिक्षक, विद्यार्थी, अभिभावक तथा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालय, बोदेबर्साइन–३ को श्री इश्वरी हिया सुरैत जिलेवी जनता माध्यमिक विद्यालय तथा शम्भुनाथ–६ स्थित श्री बुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालयलगायत सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी तथा शिक्षकका समस्या र सुझाव सुन्नुभएको थियो ।