प्रहरी कार्यालयबाटै ठगीका अभियुक्त फरार, प्रहरीकै मिलेमतोको आशंका


काठमाडौः महोत्तरीमा ठगी तथा आपराधिक विश्वासघात कसुरमा पक्राउ परेका अभियुक्त रामेश्वर पराजुली प्रहरी कार्यालयबाटै फरार भएका छन् ।

काठमाडौंका बौद्ध र गौशाला प्रहरी वृत्तमा समेत मुद्दा बाँकी रहेका उनलाई अनुसन्धानका लागि बुझाउने तयारी भइरहेका बेला जिल्ला प्रहरी कार्यालय महोत्तरीबाटै उनी सुटुक्क उम्किएका हुन् । पोखरा महानगरपालिका–५ का ३८ वर्षीय पराजुलीलाई महोत्तरी प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा चलाएको थियो । अदालतले दुई मुद्दामा १५–१५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि अन्य ठाउँमा मुद्दा बाँकी रहेकाले उनलाई तत्काल रिहा नगरी सम्बन्धित प्रहरी कार्यालयमा बुझाउनुपर्ने थियो ।

तर धरौटी बुझाएपछि काठमाडौं पठाउने तयारी भइरहेका बेला उनी प्रहरी कार्यालयबाटै फरार भएका हुन् । प्रहरीको मिलेमतोमा फरार गराइएको आशंका उठे पनि महोत्तरीका एसपी श्याम सारु मगरले प्रहरीको मिलेमतो नभई ड्युटीमा रहेका प्रहरीको कमजोरीको फाइदा उठाएर उनी भागेको दाबी गरेका छन् । एसपी मगरका अनुसार एकैपटक पाँच–छ जना थुनुवा अदालतबाट ल्याइएको र प्रक्रिया पूरा गरेर काठमाडौं पठाउने तयारी भइरहेका बेला पराजुली फरार भएका हुन् ।

घटनाबारे आन्तरिक छानबिन भइरहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पराजुलीलाई मधेश प्रदेशका विभिन्न मन्त्रालयबाट योजना दिलाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा सिरहा प्रहरीले गत साउन २७ गते पक्राउ गरेको थियो । उनीविरुद्ध महोत्तरीसहित काठमाडौं तथा अन्य जिल्लामा पनि ठगी र बैंकिङ कसुरका विभिन्न मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।