काठमाडौँः धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखिया ठूलो मात्रामा हुण्डी कारोबार गरेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले उनलाई मंगलबार साँझ शहीदनगर–४ बाट पक्राउ गरेको हो। उनी अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा छन् । सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार मुखियाले ठूलो मात्रामा हुण्डी कारोबार गर्ने गरेको सूचना पाएपछि अनुसन्धान अघि बढाइएको थियो ।
उनको व्यक्तिगत तथा व्यावसायिक बैंक खाताको विवरण अध्ययन गर्दा १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको हुण्डी कारोबार भएको प्रारम्भिक रूपमा खुलेको छ । यो बैंकिङ प्रणालीबाट देखिएको कारोबार मात्र भएकाले नगदमार्फत भएको कारोबार जोडिँदा रकम अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मुखिया पछिल्लो दुई वर्षदेखि हुण्डी कारोबारमा संलग्न देखिएका छन् ।
उनको समूहले मुख्यतः मलेसिया तथा अन्य खाडी मुलुक लक्षित कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर, मुखिया स्वयं हुण्डी कारोबारका मुख्य मालिक नभई निश्चित रकम लिएर अरूको रकम कारोबार गर्ने व्यक्ति रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । कारोबारका वास्तविक मालिक तथा यसमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको सीआईबीले जनाएको छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ ले मान्यताप्राप्त संस्था वा भुक्तानी उपकरणबाहेक अन्य माध्यमबाट रकम स्थानान्तरण, भुक्तानी वा हिसाब मिलान गर्ने गरी गरिने कारोबारलाई हुण्डीका रूपमा परिभाषित गरेको छ । हुण्डी कारोबारमा बिगो तथा त्यसबाट बढे–बढाएको सम्पत्ति जफत गरी एक वर्षसम्म कैद हुने व्यवस्था छ ।





