काठमाडौँः पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ ।
विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो । डिन छनोट प्रक्रियामा उम्मेदवारले व्यक्तिगत विवरणसहित सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना पेश गर्नुपर्नेछ ।
कार्ययोजनामा संकायको सबलीकरण, कमजोरी, अवसर र चुनौतीको विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना तथा समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्ने विश्वविद्यालयले जनाएको छ । खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा उम्मेदवारको योग्यता र अनुभवसँगै सम्बन्धित संकायको विकासका लागि प्रस्तुत रणनीतिक योजना तथा त्यसको कार्यान्वयन क्षमतालाई समेत आधार बनाइने विश्वविद्यालयले जनाएको छ ।
चारवटै संकायमा रिक्त डिन पदपूर्ति भएपछि विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा रणनीतिक नेतृत्व थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।





