प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड


केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा कसैले रोक्न नसक्ने बताएका थिए। लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने  नेपालकै दोस्रो लामो पक्की पुलको उदघाटन गर्दै सो कुरा बताएका हुन् ।

उनले देशको चौतर्फी विकासमा आफुहरु अगाडी बढ्ने बताउँदै संविधान र व्यवस्थाको रक्षा गर्दै त्यस प्रक्रियालाई सुरक्षित ढंगले सफलता पुर्वक अगाडी बढाउने तथा देशमा सुशासन र विकास ल्याउने बताएका छन् । पुलको चार बर्ष अघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिलन्यास गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उदघाटन गरेको दाङ देउखुरीको सिसहनिया-महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ ।पुलको सम्पूर्ण भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै स्थानीय रुष्ट थिए । उनीहरुले शिलालेख सच्चाउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आएका थिए । तोडफोड हुनुको कारण पनि यही नै रहेको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले तोडफोडबारे जानकारी आएको र अनुसन्धान भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले गत माघ १२ गते शिलालेख अनावरण गर्दै राप्ती पुल उदघाटन गरेका थिए । सुरक्षाको कारण देखाउँदै उदघाटन कार्यक्रममा स्थानीयलाई निषेध गरिएको थियो ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए ।