आज एकै दिन तीनवटा प्रदेशका मुख्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिँदैछन् । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिने तयारी भइरहेको हो । बुधबार लुम्बिनीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी, कर्णाली प्रदेशमा माओवादीका राजकुमार शर्मा र सुदूपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
उनीहरुले शपथपछि आजै सानो आकारको मन्त्रिमण्डलसमेत विस्तार गर्ने तयारी गरेका छन् । लुम्बिनीका मुख्यमन्त्रीमा नियुक्त हुँदा लिला गिरीले माओवादीसहितका सत्तापक्षका दलहरुले समर्थन गरेका थिए । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे प्रदेश राजधानी राप्ती उपत्यकामा शपथ गराउने भएका हुन् । त्यस्तै कर्णलीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा पनि माओवादीसहित सत्तारुढ गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन ।
उनले पनि आजै पद तथा गोपनियताको शपथ लिँदैछन् । दिउँसो ३ बजे प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ गराउनेछन् । त्यस्तैगरी सुदूपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले पनि दिउँसो ४ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम छ । उनी माओवादीसहति नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
यस्तै- बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, निर्वाचनका लागि आज दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनयन फिर्ताको समय र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।
बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्नु हुनेभएको छ । राप्रपाले बुधबार उहाँलाई सभामुखको उम्मेदवार बनाउने टुङ्गो लगाएको थियो । सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । यस्तै, बागमती प्रदेशसभाको उपसभामुखको भने टुङ्गो लागेको छैन ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन तथा हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० प्रदेशसभा सदस्य रहेका छन् । यस्तै- मन्त्रिपरिषदको बैठक बुधबार केहीबरेमा बस्ने भएको छ । बैठक अहिले ११ बजे बस्ने जनाइएको छ । सत्ता साझेदार दलहरुको बैठक बस्नु अघि मन्त्रिपरिषदको बैठक बस्ने भएको हो ।
आजै दिउँसो ३ बजे सत्ता साझेदार दलहरुको बैठक बस्नेछ । हाल बिनाविभागिय सहित ७ सदस्यीय मन्त्रिमण्डल छ । मन्त्रिपरिषद बैठकको आजको मूल एजेण्डा के हो भन्नेबारे खुलेको छैन । नेकपा एमालेसहित ७ दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले यही २६ गते संसदबाट विश्वासको मत लिएका थिए । प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिन भने बाँकी नै छ ।