बला”त्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आज दिउँसो अदालतले मागेको धरौटी रकम बुझाएर रिहा हुँदैछन्। उच्च अदालत पाटनले बिहीबार उनीसँग २० लाख रुपैयाँ धरौटी मागेको थियो। अदालतले बैंक जमानत वा नगद बुझाउन भनेकाले लामिछानेले नगदै २० लाख धरौटी बुझाउन लागेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए। लामिछानेलाई धरौटीमा छोड्न न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले गरेको आदेशको फाइल पहिला जिल्ला अदालत काठमाडौं जानुपर्छ।
त्यसपछि लामिछानेका वकिलले धरौटी रकम बुझाउने छन्। धरौटी बुझाएपछि अदालतले छोड्नका लागि पत्र केन्द्रीय कारागार पठाउँछ। केन्द्रीय का’रागारले उनलाई स्वास्थ्य परीक्षण गरेर छोडिदिने अधिवक्ता घिमिरेले बताए। त्यसपछि लामिछानेलाई जिल्ला अदालत लगिने छ। कारा’गारबाट छुटेपछि मूल मुद्दाको तारिख लिन उनी काठमाडौं जिल्ला अदालत जानेछन्। ‘यी सबै प्रक्रिया पूरा गर्दा दिउँसो साढे १ वा २ बज्छ होला,’ घिमिरेले भने। यसअघि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो।
तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले २० धरौटीमा छाड्न आदेशको हो। इजलासले लामिछानेको मानसिक अवस्था राम्रो नभएको, पीडितको बकपत्र भइसकेकाले होस्टाइल गराउनका लागि प्रभावमा पार्न सक्ने संभावना नरहेको, लामिछानेबाट सार्वजनिक शान्तिमा खतरा नभएको, भाग्न सक्ने अवस्था नभएको, पीडितलाई दबाब र प्रलोभनमा पार्न सक्ने अवस्था नभएको भन्दै धरौटीमा छाड्न आदेश दिएको हो। अदालतले लामिछानेलाई केही शर्त तोकेको छ। ती शर्तहरू उल्लंघन गरेको पाइएमा उनलाई फेरि थुनामा पठाइने आदेशमा उल्लेख छ।
यस्ता छन् शर्त:
१. यस मुद्दाको फैसला नभएसम्मका लागि सन्दीपलाई नेपाल बाहिर जानबाट रोक लगाइएको छ। उनको नाममा जारी भएको राहदानी रोक्का गर्न भनिएको छ। यसको कार्यान्वयनका लागि गृह र परराष्ट्र मन्त्रालयलाई लेखेर पठाउन भनिएको छ।
२ . आफू वा आफू सम्बद्ध संस्था वा व्यक्तिहरूबाट जाहेरीकर्ता, पीडित वा उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न पाउँदैनन्। जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरूत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्नू/ नगराउनू भनी सन्दीपलाई निषेधात्मक आदेश दिइएको छ।
३ . जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यको सम्बन्धमा वा विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी वा धारणा व्यक्त गर्न सन्दीपलाई रोक लगाइएको छ।
४. कुनै काम विशेषका कारण सन्दीपले काठमाडौं उपत्यका छोड्नु परे, छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोबारे लिखित जानकारी दिनुपर्ने छ। सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्कने मिति तथा उपत्यकाबाहिर रहने स्थान समेत खुलाउनु पर्नेछ।
५. माथिका खण्डहरूमा उल्लिखित आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ। त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्ने छ। जिल्ला अदालतले माग गरेका बखत त्यस्ता सामग्री वा विवरण उपलब्ध गराउनु पर्नेछ। यसको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिन भनिएको छ।
यी शर्तहरू उल्लंघन गरेको पाइएमा अदालतले उनलाई पुनः थुनामा पठाउन सक्नेछ। धरौटी माग गरिएको भए पनि उक्त आदेश स्वत: निष्क्रिय भएको मानिने अदालतको आदेशमा उल्लेख छ।
यस्तै-काठमाडौंको शंखरापुरमा सब स्टेसन निर्माणका विषयमा प्रहरीसँग विवाद हुँदा वडा सदस्य घा’ईते भएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका – ३ का वडा सदस्य विजय लामा घाईते भएका हुन् । प्रहरीसँगको झ’डपमा आज बिहीबार उनको हात भाँ’चिएको छ । प्रहरीले अरु तीन जनालाई पक्राउ समेत गरेको छ । सब स्टेशन निर्माणको विरोधमा १२ दिनदेखि शंखरापुर–३ आ’न्दोलित छ । गाउँलेले आफ्नो गाउँमा सब स्टेशन निर्माण गर्न नहुने माग राखेका छन् ।
आज बिहीबार प्रहरीको सहयोगमा नेपाल विद्युतय प्राधिकरणले सब स्टेशन निर्माण सुरु गरेको छ । आफूहरुको अनुमति बेगर सब स्टेशन निर्माणका लागि प्रहरी परिचालन गरिएको भन्दै स्थानीयबासिन्दाले राष्ट्रिय मानव अधिकार आयोगमा यस अगाडि नै उजुरी पनि दिएका छन् । शंखरापुर नगरपालिका– ३ मा पर्ने बोझनीको करिब २ सय रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सब स्टेशनले आफ्नो उठिबास लाग्ने भन्दै स्थानीयबासिन्दाले विरोध गरिरहेकाछन् । ०७४ देखि नै सुरु भएको यो आयोजनाको स्थानीयबासीले सुरुवातदेखि नै विरोध गर्दै आईरहेकाछन् ।
४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली काठमाडौं उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउन शंखरापुरको बोझनीमा विद्युत् प्रसारण आयोजनाले सब स्टेसन निर्माण गर्न लागिएको प्राधिकरण बताउँछ । यो सब स्टेसनले माथिल्लो तामाकोशीसँगै एमसीसीले निर्माण गर्ने प्रसारण लाइन र भक्तपुरको खरिपाटीस्थित वितरण केन्द्रलाई जोड्नेछ ।
बोझनी बस्तीको बीचमा निर्माण गर्न लागिएको यो सब–स्टेसनमा तीनतिरबाट ४ सय किलो भोल्ट (के.भी) क्षमताका ‘हाई भोल्टेज’ प्रसारण लाइन विस्तार हुनेछन् । आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरेको, मानव बस्तीको बिचमा सब स्टेशन निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । प्राधिकरण भने सब स्टेशन निर्माणका लागि आफूहरुले जग्गा लिइसक्दा पनि स्थानीयबासिन्दाले अनाहकमा विरोध गरेको बताउँछ ।