राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्की रहेका छन् । पत्रकार सम्मेलन गरी सिधा कुरा गर्ने सभापति लामिछानेले सामाजिक सञ्जाल मार्फत बताएका छन । उनले लेखेका छन्, “पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ ।त्यस लगत्तै पार्टि कार्यलयबाट आज म बिशेष पत्रकार सम्मेलन गर्दैछु । म चाहान्छु सिंगो देश र बिदेशमा रहनुहुने सबैले आजको पत्रकार सम्मेलन हेरुन् ,सुनुन् मैले सिधा कुरा नगरेको धेरै भएछ ।