वालिङ नगरपालिका–६ आम्डालीस्थित भित्रि सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षीय नवीन सुनार (चालक) र वालिङ नगरपालिका–८ मिर्दीका १४ वर्षिय सोबिन विक (सहचालक) रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।
दुवै जनालाई प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार गरिएको थियो । उपचारको क्रममा चालक सुनारलाई राति साढे ९ बजे डाक्टरले मृत्त घोषण गरेका थिए ।सामान्य उपचारपछि थप उपचारको लागि सहचालक विकलाई राति नै पोखरास्थित गण्डकी मेडिकल कलेज रिफर गरिएको थियो ।
घाइते नवीनको टाउको र ढाडमा चोट लागेको थियो भने सोबिनको टाउको र दायाँ खुट्टामा चोट लागेको थियो । डीएसपी खनालका अनुसार दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । आइतबार राति ८ बजे ग १ त ६८८६ नम्बरको ट्याक्टर ढुंगा लिएर जगतभन्ज्याङबाट मिर्दीतर्फ आउने क्रममा एक्कासि अनियन्त्रित भइ १५ मिटर तल खसेको थियो ।
उपचारको क्रममा उनलाई पनि राति नै मृत्त घोषण गरिएको डीएसपी खनालले बताए । सुनारको शव वालिङ स्वास्थ्यचौकी र विकको शव गण्डकी मेडिकल कलेजमा नै रहेको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।