कान दुखेर झारफुक गर्न धामी कहाँ लैजादा रूपन्देहीमा एक किशोरिको ज्यान गयो


रूपन्देहीमा झारफुकको बहानामा एक १४ वर्षीया किशोरीको ज्यान गएको छ। रूपन्देहीको सैनामैना नगरपालीकामा बिरामी भएकी किशोरीलाई निको बनाउने भन्दै झारफुक गर्ने बहानामा चरम यातना दिएपछि ती किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसार मृत्यु हुनेमा सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवाली रहेकी छन्।

गत शनिबार राति झारफुक गर्ने भन्दै झारफुक गर्ने माता भन्ने स्थानीय २२ वर्षीया सोनिया रेश्मीले चरम यातना दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

रेश्मीले सीतालाई झारफुक गरी सन्चो बनाउँछु भन्दै रूद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, त्यस्तै भुइँमा लडाएर घोप्टो पारी शरीरमाथि बसेर हातमा घन्टी बजाउँदै गालामा थप्पड हान्ने गरेकी थिइन्। , टाउको र घाँटीमा खुट्टाले टेक्ने, भुइँमा लडाउने , पटकपटक जगले नाक र मुखमा पानी खन्याउने, कपाल समाएर टाउको बटार्ने, कपाल समाएर अनुहारमा थुक्ने, खरानी खुवाइदिने र लछारपछार पारी कुटपिटसमेत गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

भिडिओ सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा किशोरीको मृत्यु भएको र दाहसंस्कार समेत गरेको पाएको हो।

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार ४ , ५ दिनदेखि कान दुखेर बिरामी परेकी सीतालाई परिवारले माता भन्ने सोनियासँग झारफुकका लागि लगेका थिए।

झारफुकको बहानामा चरम कुटपिट गरिएकै कारण उनको मृत्यु भएपछि परिवारले गत शनिबार राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरेका थिए।

अहिले प्रहरीले घटनामा प्रत्यक्ष संलग्न सोनिया रेश्मीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।