प्रधानमन्त्री प्रचण्ड भन्छन् ‘ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक छ’


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

आजदेखि सुरु भएको आठौँ पावर समिट–२०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले नीतिगत र व्यावहारिक रूपमा नै ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेकाले ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । आर्थिक रूपमा बलियो बनाएर अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जाको आवश्यकता महत्त्वपूर्ण भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरी सन् २०२५ सम्म निर्यात हुने अपेक्षा गर्छौँ । त्यसैले हामी हरित ऊर्जाका लागि बजार फराकिलो बनाउनका लागि उत्तम रणनीतिका साथ यस क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशीको अनुभवबाट सिक्न यहाँ भेला भएका छौँ । देशका सबै नागरिकलाई बिजुली उपलब्ध गराउने लक्ष्यका साथ ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी विस्तार गरिरहेका छौँ ।’

प्रधानमन्त्री प्रचण्डले धेरै बिजुली खपत गर्न सक्ने क्षेत्रको प्रवर्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै व्यापार घाटालाई कम गर्न बिजुलीको उपभोग बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।