नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक केजी ८० ग्राम लागुऔषध कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बिहीवार पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीले यसबारेमा जानकारी गराएको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको अलिग्राहका ५१ वर्षीय रविन्द्रकुमार परासर र केन्याकी ६३ वर्षीया पिलिसिला वान्जा एन्ड्रिटुलाई रहेका छन् ।
गएको वैशाख ५ गते रविन्द्रकुमार र एन्ड्रिटुलाई काठमाण्डौको ठमेलमा रहेको छुट्टाछुट्टै होटलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक ९एसपी० चक्रराज जोशीले जानकारी दिनुभयो । उनीहरूको साथबाट कालो रङ्गको कपडाको झोलाभित्र लुकाइरहेको खैरो रङ्गको लेडिज ब्यागमा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा एक केजी ८० ग्राम कोकिन बरामद गरिएको उहाँले बताउनुभयो । साथै प्रहरीले महिलाको साथबाट एक हजार अमेरिकी डलर पनि बरामद गरेको छ ।
उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाण्डौ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको एसपी जोशीले बताउनुभयो । बरामद कोकिनको अन्दाजी अवैध बजार मूल्य दुई करोड ३३ लाख २८ हजार रुपैयाँ रहेको छ ।