काठमाडौँः सागरनाथ वन विकास परियोजनाको जग्गामा नदीजन्य पदार्थ उत्खनन गर्दा रोयल्टी नतिरी राजस्व चुहावट गरेको मुद्दामा सरकारी साक्षी बनेका रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्रराज आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अनुसन्धानका क्रममा दिएको बयानभन्दा फरक हुने गरी विशेष अदालतमा बकपत्र गरेपछि आचार्यविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् । यसअघि विशाल घिमिरेसहितका प्रतिवादी संलग्न राजस्व चुहावटसम्बन्धी मुद्दाको अनुसन्धानमा सहयोग गरेको भन्दै आचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिइएको थियो । उनलाई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो ।
तर, गत भदौ १० गते विशेष अदालतमा बकपत्र गर्दा उनले अनुसन्धान अधिकृतसमक्ष दिएको बयानको प्रतिकूल हुने गरी बयान दिएका थिए । अनुसन्धानबाट आचार्यले बागमती नगरपालिकासँग प्रचलित कानुनभन्दा कम मूल्यमा नदीजन्य पदार्थ खरिद गर्ने सम्झौता गरेको खुलेको अख्तियारले जनाएको छ । सागरनाथ वन विकास परियोजना क्षेत्रमा रोयल्टी नतिरी वन पैदावार उत्खनन गरी राजस्व चुहावट गर्ने मुख्य कसुरदारसँगको मिलेमतोमा गैरकानुनी लाभ लिनेदिने कार्यमा सहयोग गरेको पुष्टि भएपछि उनलाई मतियारका रूपमा मुद्दा चलाइएको हो ।
रसुवा कन्स्ट्रक्सनले बागमती नगरपालिकासँग सम्झौता गरी खरिद गरेको ३ हजार घनमिटर नदीजन्य पदार्थको ९ लाख ५३ हजार ४९६ रुपैयाँ ९० पैसा बिगो कायम गरिएको छ । अख्तियारले आचार्यलाई मुख्य कसुरदारसरह सजाय गर्न माग गर्दै कैद, बिगो जफत तथा चुहावट भएको राजस्वको दोब्बर जरिवाना मागदाबी गरेको छ ।





