धादिङमा धारिलो हतियार प्रहार गरी एक जना पुरूषको हत्या भएको छ। बुधबार राति ११ बजे गल्छी गाउँपालिका-८ मा रहेको शानदार होटलका सञ्चालक निरज पण्डितले स्थानीय विनोद थापा मगरमाथि धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।
केही विषयमा विवाद हुँदा पण्डितले थापा मगरमाथि आक्रमण गरेका थिए। आक्रमणबाट घाइते भएका थापा मगरलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।
थापा मगरको मृत्यु भएपछि उनका आफन्तले धादिङबाट नुवाकोट जाने सडक अवरूद्ध गरेका छन्। प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ। पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। उनका आफन्तमाथि पनि आक्रमण हुनसक्ने भन्दै प्रहरी कार्यालयमै बसेका छन्।