कार दुर्घटनामा मृत्यु भएकी सञ्जुको शव सुर्खेत लगियो


सवारी दुर्घटनामा ज्यान गुमाएकी डाक्टर सञ्जु खाती खड्काको शव सुर्खेत लगिएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले सञ्जुको शव गएराति गृह जिल्ला सुर्खेत पुर्‍याइएको जानकारी दिए।

सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक डम्बर खड्काकी श्रीमती हुन्। वीरेन्द्रनगर नगरपालिका(७ इतपुरमा उनीहरूले यसपालि नयाँ घर बनाएका थिए।

सञ्जु एकसाता अघि मात्रै गृहप्रवेश गरी काठमाडौं फर्कीएकी थिइन्। मंगलबार काठमाडौंबाट घर आउँदै गरेकी उनको कार दुर्घटनामा परी मृत्यु भएको थियो।

मंगलबार साँझ ५ बजे उनी सवार बा १३ च ८२५३ नम्बरको कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका(८ मगुवा खोला नजिकै मे १ ख ३३३५ नम्बरको बसले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी सञ्जुको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। चालक आँपिपल, गोरखाका ३७ बर्षीय सुवास अधिकारीको शव भने अस्पतालमै रहेको डिएसपी तिवारीले जानकारी दिए।

दुर्घटनामा बसमा सवार ६ जना घाइते भएका छन्। उनीहरू खतरामुक्त रहेको डिएसपी तिवारीले जानकारी दिए।

डम्बर उपप्राधनमन्त्री पूर्णबहादुर खड्काका माइला भाइ हुन्। उनी हप्ता दिन अगाडि मात्रै ७२औं स्वास्थ्य सम्मेलनमा भाग लिन बिदेश गएका थिए।

प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी तिवारीले जानकारी दिए।