सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु-छोराको मृत्यु


सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु-छोराको मृत्यु भएको छ। बिहीबार बिहान साढे १० बजे कपुरकोट गाउँपालिका-३ चोरखोलामा गुडिरहेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए।

करेन्ट लागेर मृत्यु हुनेमा रोल्पा गंगादेव गाउँपालिका-४ का ७० वर्षीय बलरामा डाँगी र उनका छोरा ४२ वर्षीय टोपलाल छन्।चोरखोला नजिकै विद्युतको पोललाई सपोर्ट गर्न गाडेको पोललाई छुँदा बसमा करेन्ट लागेको थियो। बसमा १८ जना सवार थिए। गम्भीर घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका-६ का ३४ वर्षीय महेन्द्र वली छन्। उनी बसका मालिक हुन्।

उनलाई उपचारको लागि कपुरकोटस्थित अस्पतालमा लगिएको छ। घटनास्थलको प्रकृति हेर्दा बाटो साँघुरो रहेको र सुख्खा पहिरो झरेको देखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। साँघुरो बाटोमा बस लैजाँदै गर्दा सडक छेउको विद्युत पोलको सपोर्टमा बसले छोएपछि करेन्ट लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ उनले भने।