मृग ठानेर भरुवा बन्दुक हान्दा आफ्नै साथीको मृत्यु


 भोजपुर नगरपालिका १२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु भएको छ । बन्दुकले लागेर भोजपुर १२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

घटना असार २२ गते रातिको भएपनि गोली लागेर साथी मरेपछि उनीहरूले खोलाको बगरमा पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गएराति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूको नाम, थर, वतन तत्काल गोप्य राखिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

‘घटना २२ गते रातिको भन्ने बुझिएको छ,’ प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । हामीलाई सूचना आउनसाथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ ।

मृतकका आफन्तले असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।