बजेटलाई लिएर सुदूरपश्चिममा सत्तारूढ दलभित्रै असन्तुष्टि


बजेटलाई लिएर सुदूरपश्चिम प्रदेशमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले असन्तुष्टि जनाएका छन्।  सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वमा सरकार छ। कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह मुख्यमन्त्री छन्। अर्थमन्त्री भने एकीकृत समाजवादीका नरेश शाही छन्। उनले गत असार १ गते सदनमा बजेट पेश गरेका थिए।

बजेटमाथि यसअघि प्रदेश सभामा छलफल हुन सकेको थिएन। आफूहरूले प्रस्ताव गरेका योजनामा बजेट नपरेको भन्दै सत्तारूढ दलकै सांसदहरू सरकारसँग असन्तुष्ट छन्। प्रदेश सभामा बैठक नगरेर मुख्यमन्त्री कार्यालय, संसदीय दल कार्यालय र होटलमा समेत छलफल हुने गरेको थियो।

सरकारले पेश गरेको बजेट संशोधन नभए पास नगर्ने सत्तारूढ तीन दलका सांसदहरूको अडान छ। एकीकृत समाजवादीका सांसद दीर्घ सोडारीले बजेट पास हुन नदिइने बताउने गरेका छन्। नागरिक उनमुक्ति पार्टीले पनि बजेटमा असन्तुष्टि जनाएको छ।

दुई मन्त्री र एक राज्यमन्त्री पठाएको माओवादीले सरकारले ल्याएको बजेट ठिक नभएकोले पास गर्न नसकिने बताइरहेको छ। माओवादीका सांसद तथा पूर्वमन्त्री मानबहादुर धामीले बजेट पास गर्नका लागि छलफल गरेर सहमति खोज्नुपर्ने बताए।

‘बजेट सरकारले बनाउने हो कि कर्मचारीतन्त्रले?,’ उनले प्रश्न गरे, ‘चुनावमा गरेका बाचा पूरा गर्ने गरी बजेट आएन।’ नेपाली कांग्रेसका केही सांसदहरूले पनि यथास्थितिमा बजेट पास गर्न सकिने बताइरहेका छन्।

कांग्रेस सुदुरपश्चिम प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले सरकारले ल्याएको बजेटमा त्रुटि रहेको बताए। ‘बजेटमा सांसदहरूले असन्तुष्टि जनाउनुभएको छ। पहिले यो सम्बोधन गरिनुपर्छ,’ उनले भने। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता राजेनद्रसिंह रावलले कमिसनमा खेलनेहरुले बजेटमाथि बार्गेनिङ गरिरहेको बताए।

‘आफ्ना योजनामा बजेट परेन भनेर सत्तारूढ दलकै सांसदहरू सरकारमाथि खनिएका छन्,’ उनले भने। असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्था छ। मुख्यमन्त्री शाहले बजेट पारित गर्नका लागि विभिन्न दलहरूसँग आन्तरिक छलफलसमेत गरिरहेका छन्।