धादिङ प्रहरीले ६ वर्षअघिको कर्तव्य ज्यानसम्बन्धी घटनामा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। २०७४ साल असोज १२ गते साँझ धादिङको धुनीवेशी नगरपालिका-९ टायल घरस्थित अँधेरीखोलामा मोरङको विराटनगर महानगरपालिका-५ की ३२ वर्षीया ललिता कुमारी रामको शव सडेगलेको अवस्थामा भेटिएको थियो।
उनको हत्यामा संलग्न रहेको आरोपमा सप्तरीको बोदेबसाइन नगरपालिका-८ काचनका ३५ वर्षीय अरूण कुमार मिजारलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता सन्तु जैसवारका अनुसार ललिता र अरूणबीच प्रेम सम्बन्ध रहेको त्यतिबेलैको अनसन्धानबाट खुलेको थियो।
प्रेम सम्बन्धमा रहँदा ललिता गर्भवती भएकी थिइन्। ललिताको साथबाट बरामद भएको मोबाइलबाट अनुसन्धान गर्दा उनले आफू गर्भवती भएकोबारे कुमारलाई बताउँदै विवाहका लागि आग्रह गरेकी थिइन्। तर, विभिन्न बहाना देखाएर विवाहबाट पन्छिरहेका अरूण ललिताको हत्या गर्ने निष्कर्षमा पुगेका थिए।
ललिता स्टाफ नर्सको अध्ययन सक्काएर बसेकी थिइन्। उनी कामको खोजीमा थिइन्। त्यतिबेला अरूणले कुनै अस्पतालमा काम लगाइदिने भन्दै काठमाडौं बोलाएका थिए। सोहीअनुसार ०७४ भदौ २१ गते विराटनगरबाट काठमाडौं आएकी ललिताको हत्या गरी टायलघरस्थित अधेरीखोलामा फालेर अरूण फरार भएका थिए। ६ वर्षपछि (२०८० असोज ५ गते) पक्राउ परेका उनी आफैंले ललिताको हत्या गरेको स्वीकार गरेको डिएसपी जैसवारले जानकारी दिए।
डिएसपी जैसवारका अनुसार हत्या कसले गरेको भन्नेसम्म पुग्न त्यतिबेला प्रहरीलाई तीन महिना लागेको थियो। शव सडेगलेको अवस्थामा भेटिएका कारण पनि प्रहरीलाई हत्यारासम्म पुग्न समय लागेको हो। प्रहरीको अनुसन्धान चलिरहँदा ०७४ असोज ३१ गते अरूण दुबई फरार भएका थिए।
त्यतिबेलासम्म प्रहरीले हत्याराको क्लू नभेट्टाएका कारण उनी भाग्न सफल भएका थिए। पछि विभिन्न कोणबाट अनुसन्धान गरेपछि मात्रै अरूणले नै ललिताको हत्या गरेको निष्कर्षमा पुगेपछि ०७४ पुस २१ गते ललिताको परिवारले उनीविरूद्ध किटानी जाहेरी दिएका थिए।
उनी दुबई, मलेसिया लगायत विभिन्न देशमा लुकिछिपी बस्दै आएकोमा केही समयअघि नेपाल फर्किएको भन्ने सूचना प्राप्त भएपछि बाग्मती प्रदेश प्रहरी कार्यालयको सहयोगमा उनलाई सप्तरीस्थित घरबाटै पक्राउ गरिएको डिएसपी जैसवारले जानकारी दिए। तीन दिनअघि (शुक्रबार) पक्राउ परेका उनीविरूद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी जैसवारले जानकारी दिए।