गुन्डा नाइके रिगललाई आम माफीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

Microlink Media

१८ आश्विन २०८०, बिहिबार


 गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आम माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको छ । रिगलको निर्देशनमा मारिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले असोज १४ गते रिट दायर गरेकी थिइन् ।

चेतनको २०७२ सालमा नेपालगन्जमा खुँडा हानी हत्या भएको थियो । सर्वस्वसहित जन्मकैद भएका रिगललाई गत संविधान दिवसका अवसरमा आम माफी दिइएको थियो । उक्त निर्णयविरुद्ध भारती न्याय खोज्दै काठमाडौंमा आइपुगेकी छिन् ।

 राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध माइतीघरमा २ घण्टा अनसन बसेर तारिक बुझ्न सर्वोच्च पुगेका बेला त्यहीँ ढलेकी भारती मानन्धर उपचारपछि फेरि माइतीघर पुगेकी छन् । श्रीमान् चेतन मानन्धरका हत्यारा योग ढकाल (रिगल) लाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध उनी अनसन बसिरहेकी हुन् ।

बुधवार तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालबाट आज डिस्चार्ज भएसँगै उनी फेरि रिले अनसनका लागि माइतीघरमा पुगेकी हुन । बुधवार उनी २ घण्टा अनसनमा बसेकी थिइन् ।