सल्यानमा ३ दिनदेखि हराइरहेकी महिलाको शव आफ्नै घरभित्र खाद्यान्न राख्ने भकारीमा भेटियो

Microlink Media

२० आश्विन २०८०, शनिबार


सल्यानमा एक जना महिला आफ्नै घर भित्र खाद्यान्न राख्ने भकारी भित्र मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत भेटिएकी हुन् ।

मृतकको घरमा मृतक महिला सहित उनका छोरा, छोरी र बुहारी बस्थे । मृतक गणेशी असोज १५ गते बेलुकादेखि घरबाट हराएको भनेर परिवारले बताउँदै आएका थिए । तीनदिन सम्म उनि कतै सम्पर्कमा नआएपछि गाउँलेहरुले खोजिकार्य थालेका थिए ।

बिहीबार गाउँलेहरु मृतकको घरमा जम्मा भएको बेला घरभित्र शव गन्ध आएको थाहा पाएपछि खोज्दा भकारी भित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानको प्रवक्ता गोपाल श्रेष्ठले बताए ।

घटना शंकास्पद रहेको र प्रहरीले अनुसन्धान थालेको प्रवक्ता श्रेष्ठको भनाई छ । शवलाई जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम गरिएको र घटनाको रहस्य अनुसन्धान पछि मात्रै खुल्ने प्रहरीको भनाई छ ।