लाङटाङ लिरूङमा जोखिम कायमै, स्याटलाइटले देखायो नयाँ ताल


काठमाडौँः भदौ १० गतेको भीषण हिमपहिरोपछि लाङटाङ लिरूङ हिमालको अवस्थाबारे चिनियाँ स्याटलाइटबाट थप नयाँ सूचना प्राप्त भएको छ । स्याटलाइट तस्बिरअनुसार हिमालमा अझै केही हिमनदी र चट्टानी भाग झुन्डिएको अवस्थामा छन् ।

ती भाग भविष्यमा खस्न सक्ने सम्भावना रहे पनि त्यसको समय र परिमाणबारे यकिन गर्न नसकिने जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक विक्रम श्रेष्ठ जुवाले बताएका छन् । हिमपहिरो गएको स्थानमा अर्को महत्वपूर्ण परिवर्तनसमेत देखिएको छ । पहिले बरफले ढाकिएको क्षेत्रमा ०.१९ वर्गकिलोमिटर क्षेत्रफलको ताल पुनः स्पष्ट देखिन थालेको छ ।

यो क्षेत्रफल करिब २७ वटा अन्तर्राष्ट्रिय फुटबल मैदान बराबर हो । चिनियाँ अध्ययनले भदौ १० गते खसेको बरफ र चट्टानको मात्रा ७ करोड घनमिटरभन्दा बढी रहेको अनुमान गरेको छ । विज्ञहरूले पहाडी संरचना थप अस्थिर हुन सक्ने भएकाले लाङटाङ लिरूङ क्षेत्रमा नियमित स्याटलाइट निगरानी आवश्यक रहेको बताएका छन् । यद्यपि, अहिले देखिएका संकेतका आधारमा तत्काल अर्को ठूलो हिमपहिरो जाने निष्कर्ष निकाल्न नसकिने वैज्ञानिकहरूको भनाइ छ ।